अमेरिकी पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोनमा भने –चुनाव आधारभुत रुपमा पारदर्शी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू पराजित भएको अझै स्वीकार गरेका छैनन् । उनले कुनै पनि ठोस प्रमाण बिना चुनावमा धाँधली भएको र आफूबाट नतिजा खोसिएको दाबी गर्दै आएका छन् ।

उनले अदालतको ढोका पनि ढकढक्याएका छन् । तर रिपब्लिकन पार्टी कै नेताहरुले ट्रम्पको दाबीमा कुनै प्रमाण नरहेको बताएका छन् । केही नेताले भने अझै पनि ट्रम्पको स्वरमा स्वर मिलाएका छन् ।

४६ औँ राष्ट्रपतिमा निर्वाचित हुने पक्का भए पछि जो बाइडेनले काम सुरु गरिसकेका छन् । अहिलेसमम ट्रम्पले उनलाई जितको बधाई दिन टेलिफोन गरेका छैनन् ।

तर पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले भने बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका छन् । बाराक ओबामा भन्दा अघि दुई कार्यकाल ह्वाइट हाउसमा रहेका रिपब्लिकन पूर्व राष्ट्रपति बुसले बाइडेनलाई टेलिफोन गरेर बधाई दिएका हुन् ।

बुसले चुनाव आधारभुत रुपमा पारदर्शी र धाँधली रहित रहेको बताएका छन् । तर कानूनी मार्गमा जान राष्ट्रपति ट्रम्प स्वतन्त्र रहेको बताएका छन् ।

बुसले चुनावको नतिजा स्पष्ट र पारदर्शी रहेको उल्लेख गरेका छन् । बुसले वक्तव्य जारी गरेर बाइडेन र उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिसलाई बधाई दिएको र उनीहरुको नेतृत्वमा देश एकीकृत हुने विश्वास रहेको बताएका छन् ।

बुसले भनेका छन्, ‘हामीबिच राजनीतिक भिन्नता छन्, मलाई थाहा छ जो बाइडेन असल व्यक्ति हुन् । उनले हाम्रो देशलाई एकीकृत गर्ने अवसरमा जित हाँसिल गरेका छन् ।’

उनले सफताको कामना गरेको र कुनै पनि तहमा सहयोगका लागि तयार रहेको बताएको उनले उल्लेख गरेका छन्।

ट्रम्पलाई प्रथम महिला मिलानिया ट्रम्प र ज्वाईँ जेरार्ड कुस्नरले नतिजा स्वीकार गर्न सल्लाह दिएको अमेरिकी सञ्चारमाध्यमले जनाएको छन् ।

तर डोनाल्ड ट्रम्प जुनियर र एरिक ट्रम्पले भने नतिजा स्वीकार नगर्न भनिरहेका छन्। बेलायती समाचारपत्र डेलीमेलले यो समाचार लेखेको छ ।