कोरोना संक्रमित भेटेपछि प्रदेश दुईमा त्रास बढ्दै, स्वास्थ्य परीक्षण गर्ने सामग्रीको अभाव

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोबिड १९) को उच्च जोखिममा रहेको प्रदेश २ मा कोरोना संक्रमित पाइएपछि प्रदेश सरकारले लकडाउनलाई प्रभाबकारी बनाउने र परक्षणको दायरा बढाउने रणनीतिमा जुटेको छ । प्रदेश २ को प्रमुख व्यापारिक शहर मानिएको पर्साको वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना भाइरस (कोबिड १९) को संक्रमण पुष्टि भएपछि छपकैया क्षेत्रलाई कडा लकडाउन गरेर परीक्षण गर्दै सिंगो प्रदेश दुईलाई नै कडाइका साथ जाने प्रदेश सरकारले जनाएको छ ।

कोरोनाको संक्रमण पुष्टि भएसँगै सर्बसाधारणमा त्रास उत्पन्न बढ्ेको छ भने लकडाउनलाई प्रभावकारी बनाउने र जाँचलाई तीब्रता दिने योजना बनाइरहेको प्रदेश सरकारले जनाएको छ । कोरोनाको संक्रमण पुष्टि भएपछि आज बिहानैदेखि वीरगञ्जसहित प्रदेश २ को सबै शहरहरुमा सुरक्षा व्यवस्थालाई थप कडा पारिएको छ भने सीमा नाकामामा सुरक्षाकर्मीहरुको संख्या अझै बढाइएको छ । 

छिमेकी मुलुक भारतमा तीब्र रुपमा फैलिरहेको कोरोनाको संक्रमण प्रदेश २ मा सजिलै फैलिन सक्ने भएकाले भारतीय सीमा नाकामा सुरक्षा पोष्ट थपिएको छ भने सीमा नाकाको प्रत्येक एक सय मिटरको दुरीमा सुरक्षाकर्मी खटाइएको जनाएको छ । यसका साथै सरकारले गरेको लकडाउनको प्रभाबकारी रुपमा कार्यान्वयन नभइरहेको गुनासो उठिरहेको बेला आज विहानैदेखि लकडाउन प्रभाबकारी बनाउन प्रदेश सरकार जुटिसकेको छ । 

विहान र बेलुकाको समयमा सडकहरुमा सर्बसाधारणहरुको चहलपहल बढ्ेको भन्दै आज विहानैदेखि सडकमा प्रहरीको सक्रियता बढाइएको छ । भारतको दिल्लीमा जमातीमा सहभागी भएर फर्केका १९ जनासहित २६ जनालाई आज मात्रै पर्साको वीररगञ्जस्थित २ वटा मस्जिदबाट पक्राउ गरी क्वारेन्टिनमा पठाइएको छ ।  कोरोनाको संक्रमण पुष्टि भएको स्थानमा पूर्ण रुपले कडा लकडाउन गरिने प्रदेश सरकारको भनाइ छ । 

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले वीरगञ्जमा ३ जनामा कोरोना संक्रमण भएकोबारे आफूलाई पनि जानकारी आएको र यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर संक्रमितको उपचारको व्यवस्था मिलाउन लागिपरेको जनाए ।
 
बाहिरबाट आएका तीन जना जमातीमा संक्रमण भएको जानकारी पाए लगत्तै गृहमन्त्रीसँग छलफल गरेको छु, मुख्यमन्त्री राउतले भने, ‘यो क्षेत्रलाई पूर्ण रुपले लकडाउन गरेर अरु कदम चाल्ने विषयमा हाम्रो कुराकानी भएको छ ।’ अहिले सीमा नाकामा धेरै कडाइ गरिएको उनको भनाइ छ ।

कोरोना संक्रमित प्रदेश २ मा नपाइएको भन्दै केही दिनसम्म ढुक्क बसेका प्रदेश २ का स्थानीयहरुमा वीरगञ्जमा ३ जनामा संक्रमण पुष्टि भएसँगै चिन्ता बढएको छ । यसका साथै प्रदेश २ मा कोरोना संक्रमणको आशंका गरिएकाहरुको स्वाबको जाँचलाई तीब्रता दिने तयारी प्रदेश सरकारले गरे पनि जनशक्ति र पूर्वाधारको अभावमा गति लिन सकेको छैन् । 

प्रदेश २ मा शनिवारसम्म ३६३ जनाको स्वाब संकलन भएकोमा १३२ जनाको मात्र स्वाब परीक्षण रिपोर्ट आउन सकेको छ । रिपोर्ट आए सबैको रिपोर्ट निगेटिभ आएको छ । बाँकी २३१ जनाको जाँच रिपोर्ट आउन नसकेको प्रदेश स्वास्थ्य निर्देशनालय जनकपुरले जनाएको छ । गत चैत २१ गतेबाट प्रदेश २ मा शुरु भएको कोरोना ल्याब परिक्षणमध्ये नारायणी अस्पताल वीरञ्जमा ९७ जनाको परीक्षण गरिएकोमा ६० जनाको रिपोर्ट निगेटिभ आएको छ भने ३७ जनाको रिपोर्ट आउन बाँकी छ । 

जनकपुरस्थित प्रादेशिक अस्पतालमा २४६ जनाको परिक्षण गरिएकोमा ५२ जनाको मात्र रिपोर्ट निगेटिभ आएको छ भने १९४ जनाको अझै रिपोर्ट आउन सकेको छैन् । यस्तै राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अस्पतालको आइसोलेसनमा रहेका ११ जनाको स्वाब परीक्षण गर्दा सबैको रिपोर्ट निगेटिभ आएको जनाएको छ । यसका साथै भारत लगायत अन्य देशबाट नेपाल फर्केकाहरुमा कोरोनाको शंका लागेपछि प्रदेश २ मा क्वारेन्टिनमा राख्ने क्रम समेत बढ्ेको छ । प्रदेश २ को बिभिन्न जिल्लामा रहेका ३ हजार २३७ बेडको १४६ क्वारेन्टिनमा ७२ जना महिलासहित ९९३ जनालाई राखिएको छ । यस्तै ५३ जना महिलासहित १ हजार २९४ जना होम क्वारेन्टिनमा रहेका छन् भने १४ जना आइसोलेसनमा रहेको प्रदेश २ को सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए । संघीय सरकारले कोरोना परीक्षणका लागि पठाएको मेसिन थोरै क्षमताको मात्र भएको र किट समेत थोरै भएकाले अपेक्षाकृत रुपमा जाँच हुन नसकेको सचिव घिमिरेले बताए ।