मेस्सी र बार्सिलोनाका प्रशिक्षकबिचको सम्बन्ध चिसियो

स्पेनिस ला लिगा क्लब बार्सिलोनाका नयाँ प्रशिक्षक रोनाल्ड कोएम्यान र कप्तान लियोनल मेस्सीबिचको सम्बन्ध चिसो रहेको संकेत स्पष्ट रुपमा देखिन थालेको छ ।

प्रशिक्षक रोनाल्डले मेस्सीको प्रदर्शन अहिले भइरहेको भन्दा राम्रो हुन सक्ने वा हुनु पर्ने उल्लेख गरेका छन् ।

यो सिजन क्लब छोड्ने प्रयासमा असफल भएका मेस्सी अहिले ला लिगा र च्याम्पियन्स लिगमा व्यस्त छन् । बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह जी को खेलमा मंगलबार राति फेरेन्क्भारोसीसँग प्रतिस्पर्धा गर्दैछ ।

यो सिजन ३३ वर्षे मेस्सीले एक गोल गरेका छन् अहिलेसम्म ।

मेस्सीको प्रदर्शनलाई लिएर प्रशिक्षक रोनाल्डले भने, ‘मलाई उनको प्रदर्शन वा प्रयासलाई लिएर कुनै गुनासो वा शंका छैन । तर अहिले जस्तो प्रदर्शन भइरहेको छ त्यो भन्दा राम्रो हुन सक्ने थियो र छ ।’

दिनप्रति दिन मेस्सी खुशी हुँदै गएको खेल्न तथा टिमको कप्तानी गर्न चाहिरहेको उनले बताए।

मेस्सी बार्सिलोनामा आफ्नो सम्झौताको अन्तिम वर्षमा छन् । च्याम्पियन्स लिगमा उनी समूह चरणमै युभेन्टसका क्रिष्टियानो रोनाल्डोसँग आमनेसामने हुँदैछन् ।