आफ्ना प्रतिस्पर्धी बाइडेनले कोरोना सामु आत्मसमर्पण गर्छन् र वैज्ञानिकको कुरा सुन्छन्ः ट्रम्प

अमेरिकाका सबै क्षेत्रमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दो क्रममा रहेको विज्ञले बताएका छन् । यस्तै अस्पताल भर्ना गर्नु पर्ने कोरोना संक्रमितको संख्या पनि बढिरहेको विज्ञको भनाई छ ।

अमेरिकामा शुक्रबार एकै दिन झण्डै ७० हजार जनामा संक्रमण पुष्टि भएको थियो । जुलाई यता एकै दिन पहिलो पटक यति धेरै संख्यामा संक्रमित थपिएका हुन् ।

पछिल्लो हप्ता अमेरिकाका ४८ राज्यमा संक्रमण बढ्दो क्रममा देखिएको छ । मिजूरी र भरमोन्टमा मात्रै संक्रमण सुधारको क्रममा छ । अमेरिकामा आउँदो नोभेम्बर ३ मा हुने चुनावका लागि कोरोना भाइरसविरुद्धको प्रयास नै प्रमुख मुद्दा बनिरहेको छ ।

संक्रमण बढ्दो क्रममा रहेकाे र आफू पनि संक्रमित भएर निको भए पनि राष्ट्रपति डोनाल्ड ट्रम्पले देशभर भिडभाड युक्त चुनावी सभा गर्न छोडेका छैनन् ।

नभाडामा आइतबार भएको चुनावी सभामा राष्ट्रपति ट्रम्पले नोभेम्बर ३ मा हुने चुनावमा आफ्ना डेमोक्र्याटिक प्रतिस्पर्धी जोन बाइडेनले विज्ञान र विज्ञको कुरा सुन्ने भन्दै आलोचना गरे ।

ट्रम्पले भने, ‘जो बाइडेनले कोरोना भाइरस सामु आत्मसमर्पण गर्छन् । उनी लकडाउन चाहन्छन् । उनले वैज्ञानिकको कुरा सुन्ने छन् । यदी मैले पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेको भए अहिले देश डिप्रेशनको ठूलो समस्यामा हुने थियो ।’

विज्ञहरुले भने पूर्ण रुपमा वैज्ञानिकको कुरा सुनेर सो अनुसार काम गरेको भए दशौँ हजार अमेरिकीकाे ज्यान जोगिने बताउँदै आएका छन् । तर विज्ञ तथा विज्ञान र उनीहरुलाई सुन्नेको आलोचना तथा व्यंग्य गरेका ट्रम्पका अधिकांश समर्थकले मास्क समेत लगाएका थिएनन् ।

सोमबार ट्रम्पले ह्वाइट हाउस कोरोना भाइरस टास्क फोर्सका विज्ञ डा. एन्थोनी फाउचीको आलोचना गरे । उनले सरुवा रोग विशेषज्ञ डा. फाउचीलाई ‘डिजास्टर’ भनेका छन् । सम्मानित अनुसन्धानकर्ताका कुरा सुनेको भए धरै व्यक्तिको ज्यान जाने ट्रम्पले दाबी गरेका छन् ।

त्यसअघि सिबिएस न्यूजसँगको अन्तर्वार्तामा डा. फाउचीले राष्ट्रपति ट्रम्प कोरोना भाइरसबाट संक्रमित हुँदा आफू आश्चर्यमा नपरेको बताएका थिए । सुरक्षात्मक उपायमा गरेको लापरवाहीका कारण ट्रम्प संक्रमित भएको उनले बताए । ट्रम्पले भने फाउचीसहितका विज्ञ तथा वैज्ञानिकहरुलाई ‘इडियट’ सम्म भनेका छन् ।