इन्जुरी समयको गोलले लेस्टर स्तब्ध, एस्टन भिल्लाको शानदार यात्रा जारी

लेस्टर सिटीलाई पराजित गरेर एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ।

लिग अन्तर्गत आइतबार राति भएको खेलमा भ्रमण टोली एस्टन भिल्लाले इन्जुरी समयको गोलमा घरेलु टोली लेस्टर सिटीलाई १–० ले पराजित गरेको हो ।

इन्जुरी समयको पहिलो अर्थात ९१ औँ मिनेटमा रस बार्क्लीले गरेको गोल नै एस्टन भिल्लाको जितमा निर्णायक बन्यो । लेस्टर स्तब्ध भयो ।

एस्टन भिल्लाले यो सिजन अहिलेसम्म खेलकेका सबै चार खेलमा जित निकालेको छ। चार खेलबाट १२ अंक जोडेको एस्टन भिल्ला लिभरपुललाई पछि पारेर दोस्रो स्थानमा पुगेको हो । उ शीर्ष स्थानको एभर्टन भन्दा एक अंकले पछि छ ।

पराजित भएको लेस्टर सिटी पाँच खेलबाट ९ अंकसहित चौथो स्थानमा छ । पाँच खेलबाट १० अंक जोडेको लिभरपुल तेस्रो स्थानमा रहेको छ ।

लिग अन्तर्गत आइतबार राति नै भएको अर्को खेलमा क्रिष्टल प्यालेस र ब्राइटनले १–१ को बराबरी गरी अंक बाँडेका छन्।