५० हजार रुपैयाँमा सिन्धुलीमा बलात्कार घटना मिलापत्र, आरोपी शेरवहादुर बिक रिहा


गत कार्तिक २६ गते अन्दाजी वर्ष ५२ की फरक क्षमता भएकी महिलामाथि भएको भनिएको बलात्कारको घटनालाई प्रहरीको सहयोगमा मिलापत्र गरेर ढाकछोप गर्दै आरोपीलाई छोडेको डरलाग्दो बिबरण बाहिर आएको छ ।
कमलामाई नगरपालिका वडा नं. ११ पाख्रिनटोल निवासी लाटी महिलालाई जंगलमा घाँस काट्न गएका बेला अन्दाजी वर्ष ३२ को शेरवहादुर बिकले दिउँसो बलात्कार गरेपछि स्थानीयले इलाका प्रहरी कार्यालय भिमानलाई खबर गरेपछि इन्पेक्टरकै कमाण्डमा आरोपीलाई पक्राउ गरिएको थियो ।
तर छलफलपछि घटनाको थप अनुसन्धान नगरी बलात्कार आरोपीलाई मिलापत्र गराएर असोज २८ गते छोड्नका लागि सहयोगी भूमिका निर्वाह गरेको आरोप पिडित पक्षले लगाएको छ । प्रहरी कार्यालयमा छलफलपछि यहाँ कागज लेख्न मिल्दैन, बाहिर लेखनदास छ, यसैलाई लेखाउनु पर्छ भन्दै पिडितलाई ५० हजार रुपैयाँ दिने सहमतिपत्रमा हस्ताक्षर गराएका थिए । तर पिडित पक्षका ज्वाई नाता पर्ने राकेश श्रेष्ठलाई सो संझौतामा हस्ताक्षर गर्न लगाएपछि भतिजहरु रमेश हायुलगायत त्यहाँबाट बाहिरिएका थिए ।
अझ अनौठो कुरा त के छ भने सो कागजमा बलात्कार वा अन्य कुनै कुरा उल्लेख गरिएको छैन, तर त्यसमा बलात्कार आरोपी बिकले ऋण सापटी लिएको र एक हप्ताभित्रै तिर्ने कुरा उल्लेख गरिएको छ । सो कागज इलाका प्रहरी कार्यालय भिमानमा लेखनदास गर्ने व्यक्तिले लेखेका हुन् । उनलाई सो कागज लेखिदिन प्रहरीले भनेको आफन्तजनको आरोप छ ।

कांग्रेस नेता खपाङ्गी प्रमुख योजनाकार !
नेपाली कांग्रेसका स्थानीय नेता लालवहादुर खपाङ्गीको योजनामा बलात्कार आरोपी बिक लेनदेनको कागजातमा सहीछाप गराएर छोडिएको तथ्य खुलेको हो । कांग्रेसका कार्यक्रममा खपाङ्गीले आरोपीलाई सँधै लिएर हिंड्ने र विश्वास पात्र पनि रहेको पिडित पक्षले बताएको छ । इलाका प्रहरी कार्यालयमा भएको छलफलमा खपाङ्गीले बलियोसँग पिडित पक्षलाई मिल्न दबाब दिएका थिए । यो बलात्कार घटना होइन, सामान्य कुरा हो, उपचार खर्च लिएर मिल्नु पर्छ भन्दै खपाङ्गीले पिडित परिवारका सदस्यलाई फकाएका थिए । अबिबाहित रहेकी पिडित आफ्नै भाइको घरमा बस्दै आएकी थिइन् ।
मेलमिलाप कर्तानैं मतियार !
जसले समाजमा घटेका गंभीर प्रकृतिका अपराधका घटनालाई कानूनी कारबाहीको दायरमा लैजाने र पिडकलाई कारबाही गराउन भूमिका खेल्ने कसम खाएका थिए, तिनै व्यक्ति बलात्कार जस्तो जधन्य अपराधमा संलग्नलाई जोगाउन सहयोगी भूमिका निर्वाह गर्छन् भन्दा अनौठो लाग्न सक्छ । तर अनौठो मान्नु नपर्ने डरलाग्दो तथ्य बाहिर आयो ।
कमलामाई नगरपालिका सिन्धुलीका मेलमिलापकर्ता एवम् नेकपा वडा नं. ११ का अध्यक्ष स्ुवर्ण कार्कीले बलात्कार भनिएको घटनालाई मिलाउन भूमिका निर्वाह गरेको पिडित पक्षले आरोप लगाएको छ । बलात्कारीलाई त्यसै छाड्न हुँदैन कारबाही गर्नुपर्छ भनेर कार्कीले भन्नुहुन्थ्यो, पछि त प्रहरी कार्यालयबाट हामिलाई निकालेर लेखनदासकहाँ लैजानुभयो, त्यसपछि भने हामी झस्कियौं, पिडितकी भतिजले कुराकानीका क्रममा भने ।
खानै खाएकी छैनन् पिडितले !
बलात्कार भएको दिनदेखी ४८ वर्षीया महिलाले खाना खाएकी छैनन् । एक्लै टोलाएर बस्ने र आँखाबाट निरन्तर आँशु झारिरहनु भएको छ, बुहारी सपना हायुले भनिन् । फुपुमा आक्रोस र पिडा मात्रै छ । हामीले कसरी सम्झाउने ? सकिरहेका छैनौं, उनले कुराकानीका क्रममा भनिन् । दोषीलाई कारबाही नगर्दासम्म हामीलाई पनि शान्ति हुँदैन, उनको भनाई थियो ।

जाहेरी दर्ता गराउने तयारी

यसैबीच पिडित पक्षले भोली जिल्ला प्रहरी कार्यालयमा बलात्कारमा संलग्न उपर किटानी जाहेरी दर्ता गराउने तयारी गरेको छ । भिमान इप्रकाले मिलाएर पठाएको भनिएको यो घटनामा जिप्रका सिन्धुलीले जाहेरी दर्ता गर्छ वा गर्दैन त्यो भने हेर्न बाँकी छ । बलात्कृत भनिएकी महिलालाई गाउँमै मिलाउने समूहले दिएको औषधीसमेत पिडित महिलाले नखाई राखेकी छन् भने आफन्तजनलाई प्रहरी कार्यालयमा उजुरी दिनबाट रोक्न दबाब दिन थालेको थाहा लागेको छ ।

लिखित उजुरी नपरेपछि हामीले छोड्यौः प्रहरी
इलाका प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरिक्षक हरिवोल केसीले करणी सम्बन्धी मौखिक उजुरीका आधारमा शेरवहादु विकलाई पक्राउ गरेर आफुले ल्याएको बताए । उनले पिडित र पिडकलाई आफैं गएर इप्रका भिमान ल्याएर मेडिकल जाँचका लागि पठाएको र पछि हाम्रो मान्छे लैजान्छौं भन्दै लिएर गएको र आरोपी बिक बिरुद्ध कुनै पनि लिखित जाहेरी दर्ता नगराएपछि १ रात थुनेर आफुले पठाएको उल्लेख गरे ।
जाहेरी दर्ता नगरेपनि तपाईले अनुसन्धान प्रक्रिया अगाडि बढाउन मिल्दैन ? भन्ने जिज्ञासामा प्रनि केसीले भनेः जाहेरीनैं दर्ता नभएपछि हामीले अनुसन्धान प्रक्रिया अगाढि बढाउनै मिल्दैन ? त्यही भएर बिकलाई छोडेको हुँ । आर्थिक लेनदेनमा तपाईले बलात्कार घटनालाई मिलाउनु भएछ नि ? भन्ने अर्को जिज्ञासामा उनले भनेका थिएः प्रहरी कार्यालयमा त्यस्तो कुनै काम भएको छैन, अब बाहिर के के भयो, कस्तो सहमति भयो त्यो कुरा मलाई थाहा भएन ।