नवदुर्गा मन्दिर नजिकै ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते

धनगढीमा खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका छन् । घाइते मध्ये एक जनाको अवस्था गम्भीर रहेको कैलाली प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार धनगढी उप–महानगरपालिका– ८ नवदुर्गा मन्दिर नजिकै बस्दै आएका स्थानीय हरिलाल विष्टको घरमा प्रयोग भएको खाना पकाउने ग्यास सिलिण्डर पड्किँदा तीन जना घाइते भएका हुन् ।

घरमा राखेको ग्यास लिकेज भएर विस्फोट भएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

घाइते हुनेमा ७० वर्षका घरधनी विष्ट सहित ६५ वर्षीया बिमला विष्ट र १५ वर्षीया महेश्वरी विष्ट रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रतिक विष्टले बताए।

घाइते सवैको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको प्रवक्ता विष्टले बताए ।