दिल्लीले हामीसँग खोसेको अधिकार फिर्ता लिन अग्रसर हुनुपर्छ: जेलमुक्त जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री

भारतको जम्मू–कश्मीरकी पूर्व मुख्यमन्त्री तथा पिडिपीकी अध्यक्ष महबूबा मुफ्तीलाई १४ महिनापछि प्रशासनले रिहा गरेको छ।

जम्मू–कश्मीर प्रशासनका प्रवक्ता रोहित कन्सलले पिडिपी अध्यक्ष मुफ्तीलाई हिरासतबाट रिहा गरिएको जानकारी दिए।

रिहा भएलगत्तै महबूबा मुफ्तीले आफ्ना समर्थक तथा शुभचिन्तकलाई एक सन्देश जारी गरेकी छन्।

‘म आज एक वर्ष भन्दा धेरै समयपछि रिहा भएकी छु । पाँच अगष्ट २०१९ को कालो दिनको कालो फैसलाले हरेक पल मेरो मनमा आक्रमण गर्छ । मलाई थाहा छ मेरो जस्तै पीडा जम्मू–कश्मीरका सबै मानिसहरुलाई भएको छ । हामी मध्ये कसैले पनि त्यो दिनको घटना र त्यसबाट भएको बेइज्जती कहिल्यै भुल्ने छैनौँ,’ उनले सन्देशमा भनेकी छन्।

उनले अघि भनेकी छिन्, ‘अब हामी सबैले दिल्ली दरबारले पाँच अगष्टमा गैरसंवैधानिक, गैरलोकतान्त्रिक र गैरकानूनी तरिकाले हामीसँग खोसेको अधिकार फिर्ता लिन अग्रसर हुनुपर्छ । मलाई थाहा छ यो यात्रा कठिन छ तर हामी सबैको हौसला यो यात्रा पूरा गर्न सहयोगी हुनेछ भन्ने मैले विश्वास लिएकी छु ।’

उनले आफूसँगै जेलमा थुनिएका सबै नागरिकको रिहाइको पनि माग गरेकी छन्।