यस वर्षको दशैँ हामी जहाँ छौँ त्यहीँ बसेर मनाऔँः स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर कोरोना भाइरसको संक्रमण बढिरहेको भन्दै यस वर्षको दशैँ आफू बसिरहेकै ठाउँमा मनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।

मन्त्रालयको नियमित प्रेस विफ्रिङका क्रममा आइतबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैँ अर्को वर्ष पनि आउने भएकाले कोरोना संक्रमण बढिरहेका बेला दशैँको लागि यात्रा नगर्न आग्रह गरेका हुन्।

उनले भने, ‘दशैँ अर्को वर्ष पनि आउँछ। यस पटकको दशैँ हामी जहाँ छौँ, त्यहीँ बसेर मनाऔँ।’

यस्तै प्रवक्ता गौतमले उपत्यकाभित्रका अस्पतालमा राखिएका लक्षण नभएका कोरोना संक्रमितलाई १० दिनभित्र पीसीआर टेस्ट गराइ रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गर्ने तर यदी पोजेटिभ आएमा भने अस्पताल राखेर १४ दिनमा टेस्ट नगराई डिस्चार्ज गर्ने बताएका छन्।

साथै मन्त्रालयले अत्यन्त जरुरी नभइ घरबाहिर ननिस्कन भन्दै जनस्वास्थ्यको मापदण्ड उल्लंघन गर्नेलाई जरिवाना गर्ने गरी नयाँ प्रस्ताव पठाइएको जानकारी दिए।