एसिडबिरुद्ध केही दिनमै कडा कानुन बनिसक्ने

एसिड हिंसासम्बन्धी नयाँ कानुनले आगामी केही दिनमै पूर्णता पाउने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले निकै चासो देखाएपछि एसिड हिंसाको निरोध र कडा दण्ड प्रावधानसहित नयाँ कानुनलाई अन्तिम रुप दिन कानुन आयोग र महान्यायाधिवक्ताबीच तीव्र सहकार्य भइरहेको छ।

भदौ २५ गते प्रधानमन्त्री ओलीले बालुवाटारमा एसिड पीडितहरुसँगको भेटमा १५ दिनभित्र कानूनी मस्यौदा तयार गर्ने प्रतिवद्धता गर्दै कानून, न्याय तथा संसदीय मामिला मन्त्री तथा अरु सम्बन्धित निकायहरूलाई निर्देशन दिएका थिए। त्यो कार्यलाई कानुन आयोगले समन्वयात्मक ढंगले अगाडि बढाइरहेको छ।

एसिड आक्रमणका पीडितहरूमाथि पर्ने मानसिक र शारीरिक असरको प्रभावलाई केन्द्रित गरी अपराधको विभिन्न पक्षलाईसमेत समेटेर कानुन बनाउनु पर्ने राय प्रतिनिधिमण्डलले व्यक्त गरेको थियो।

बिहीबार महान्यायाधिवक्ता अग्नि खरेलले प्रस्तावित मस्यौदाबारे विभिन्न ठाउँबाट आएका प्रस्तावको अध्ययनपछि कानुन आयोगका प्रमुख र केही पीडितहरुको उपस्थितिमा प्रधानमन्त्रीको पहलमा भई रहेको यो प्रयासले छिट्टै पूर्णता पाउने घोषणा गरेका थिए।

९ वर्षअघि पहिलोपटक एसिड आक्रमण भएको र गत ४ वर्ष यता त्यस्ता घटनाले निरन्तरता लिएको भए पनि अन्तर्राष्ट्रिय र मुलुकभित्रका गैर सरकारी संस्थाहरुले प्रभावकारी चासो नलिँदा अभियन्ता उज्जवलविक्रम थापाको निरन्तर प्रयास र सचेतना अभियान अनि पीडितहरुलाई संगठित गरेपछि सरकारले कठोर कानुन निर्माणको तयारी गरेको हो।