योग्यता र क्षमता नभएका आसेपासेलाई पार्टीको जिम्मेवारी दिंदा समस्याहरु आएका हुन्ः राजु बराल, वडा अध्यक्ष, फिक्कल गाउँपालिका-५

माक्र्सवाद र लेनिनवाद मात्रै होइन, जनताको बहुदलिय जनबादनैं नबुझ्दै कम्युनिष्ट पार्टीमा लागेको लागेको स्मरण छ । अरु नेताको पछि लाग्दै गर्दा विद्यार्थी राजनीति हुँदै पार्टी राजनीतिमा आइपुगेका राजु बराल फिक्कलका जनतामाझ लोकप्रिय युवा नेता मानिनुहुन्छ ।
२०४९ सालको स्थानीय निर्वाचनमा दाजु वडा अध्यक्षमा उठेपछि उहाँलाई नेकपा एमालेमा लाग्न उर्जा मिल्यो । अनेरास्ववियुको प्रारम्भिक कमिटी, जिल्लामा नेतृत्वहुँदै नेकपा एमाले सिन्धुली काठमाण्डौ सम्पर्क मञ्चको सचिव, उपाध्यक्ष, अध्यक्ष हुदै राजनितिमा क्रियाशिल रहनुभयो । त्यस पश्चात केही समय राजनितिक रुपमा भूमिका विहिन भएपनि अहिले उहाँ फिक्कल गाउँपालिका वडा नं.५ को वडा अध्यक्षमा नेकपा एमालेबाट निर्वाचित भएर जनताको कामहरु निरन्तर गरिरहनु भएको छ । राजनीतिमा आफ्नो भविश्य बनाउँदै गरेका वडा अध्यक्ष बरालसँग प्रदेशखबरका लागि नबिनबाबु अधिकारीले गरेको लामो कुराकानीको सम्पादित अंश ।
तपाईले तत्कालिन अवस्थामा बुझेको कम्युनिष्ट पार्टी र अहिलेको नेकपामा कत्तिको फरक पाउनु भएको छ ?
मैले विद्यार्थीकालमा बुझेको कम्युनिष्ट पार्टीलाई गरिवहरुको पार्टी भन्ने गरिन्थ्यो । म आफैं पनि विद्यार्थी राजनीतिमा लागेर महादेवडाडा, डुडभञ्ज्याङ्क, चकमकेका हाईस्कुलहरुमा पुगेर संगठन निर्माण गर्दाको विद्यार्थी संगठन र तत्कालिन नेकपा एमालेमा आवद्ध भएर हिंड्दा आफ्नो काम आफै गर्नुपर्दछ, आफुले खाएको भाँडा आफै माझनु पर्दछ, जसले नेतृत्व लिएको छ उसैले सवैलाई खुवाई सकेपछि मात्र खानु पर्दछ भन्ने सिकाई थियो । त्यो वेलाका कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ता र अहिलेका नेता कार्यकर्ता आकास पातालको फरक छ । त्यतिवेला संगठन विस्तार गर्न जाँदा संगठनको नेता र कार्यकर्ताको घरमा बस्ने, उहाँहरुले जस्तो दिनु हुन्थ्यो त्यस्तै खाने चलन थियो । तर अहिले होटल कहाँ छ भनेर खोज्ने र बस्ने प्रवृत्ति बढेको छ । जननेता मदन भण्डारीले प्रतिपादन गर्नु भएको जनताको बहुदलिय जनबादको बाटोमा लाग्दानैं अहिले नेपालको कम्युनिष्ट पार्टीले सफलता पाएको हो । कम्युनिष्ट पार्टीका नेता कार्यकर्ता हिजो जति लोकप्रीय एवम् जनप्रिय थिए तर आज त्यस्तो भने पाइएको छैन् ।
नेतृत्वको कार्र्यशैली, चिन्तन र आचरणले नै यो परिवर्तन ल्याएको हो र ?
राजनीतिमा धेरै कुरा जोडिएर आउने रहेछन् । धेरै खालका मानिसलाई अटाउनु पर्ने बाध्यता पनि पर्ने रहेछ । कम्युनिष्ट पार्टीको आचारण वेगरका कार्यकर्ता र नेता छाँटकाँट हुन सकेको छैन् । सामान्य गाउँमा एउटा भोटले नै पार्टीलाई जित या हारको निर्णयक गराउने संसदीय अभ्यास हुने हुँदा विचार, सिद्धान्त र कम्युनिष्ट पार्टीको आचरणमा हिंडनेहरुको संख्या क्रमश घट्न थालेको छ । कम्युनिष्ट पार्टीका कार्यकर्ताहरु अनुशासित हुनै पर्दछ । अवका दिनमा अनुशासित कार्यकर्ता बनाउन नेतृत्वले केही सोच्ने वेला आएको छ ।
तपाईले यि सबै कुराहरु गरिरहँदा त नेकपामा विचलन आएको देखिएन र ?
नेकपामा केन्द्रदेखी जिल्ला तहसम्म त केही न केही समस्या देखिएकै छन् नि ? अहिले देखिएको समस्या भनेको पार्टीलाई बिधी पद्धतिमा सञ्चालन नगर्दा र योग्यता क्षमता नभएका आसेपासेलाई आर्शिवादको हिसावमा पार्टीको जिम्मेवारी दिंदा आएका हुन् । आसेपासे र आफु अनुकुल र पहुँचको भरमा जिम्मेवारी दिने प्रचलन मौलाएको वास्तविकता हो । दुईवटा ठुला कम्युनिष्ट पार्टी एक भएको अवस्थामा धेरै कुराहरुले पार्टी नेतृत्व र कार्यकर्तामा हुनुपर्ने अनुशानमा कमी भएको हो की भन्ने लाग्दछ । अहिले देखिएका तमाम समस्याहरु पार्टीको आसन्न महाधिवेशनले हल गर्नेछ ।
विद्यार्थी राजनीतिमा सक्रिय रहेको युवाले स्थानीय सरकारको नेतृत्व गर्नु पर्दा कस्तो महशुस गर्नु भएको छ ?
मैले स्थानीय तहका कुनै पनि पदमा रहने चाहना राखेकै थिइनँ । म काठमाडौमा रहँदा नेकपा एमाले सिन्धुली काठमाडौं सम्पर्क मञ्चमा रहेर एक खालको राजनीति गरिरहेको थिए । स्थानीय तहको निर्वाचनको मिति तोकिएपछि विपक्षी दलमा शक्तिशालि उम्मेदवार भएको टिक्का टिप्पणी बढ्यो र तत्कालिन नेकपा एमालेले उम्मेदवारका कारण र राजु बरालको आचरणले पार्टीले जित हाँसिल गर्न सक्छ भन्ने निष्कर्ष निकाल्दै मलाई वडा अध्यक्षको उम्मेदवार बनाउने निर्णय ग¥यो । आफु काठमाडौमा स्थापति हुँदै गरेका अवस्था थियो । पारिवारिक सवै कुरा त्यागेर गाउँमा आउँदाको अवस्था एकखालको अलग्गै थियोे । पछि जनताले विश्वास गरेर भारीमत दिई विजयी गराउनुभयो । र थप हौसला र जिम्मेवारी थपिएपछि त्यतिवेलाका केही समस्याहरुलाई अझै हलगर्दै अहिले पनि अघि बढी रहेको छु । कम्युनिष्ट पार्टीको सिद्धान्तबाट प्रभावित भई राजनीति सुरु गरेकाले त्यसबाट बिचलित नभई काम गर्दा केही फरक अनुभव नहुने रहेछ । बरु काम गर्न हौसला मिलेको अनुभूत भइरहेको छ ।
निर्वाचनका क्रममा जनताको घर–घरमा गएर गरेका प्रतिबद्धता कतिको पुरा गर्नुभयो ? पार्टीको घोषण पत्रहरुको कार्यान्वयनको अवस्था कस्तो छ ?
मैले निर्वाचनका बेला पार्टी र आफ्नो व्यक्तिगत प्रतिवद्धता पत्र भनौं वा धोषणापत्र बनाएको थिएँ । फिक्कल गाउँपालिका जनता जिल्लाको सदरमुकामबाट टाढा, भौगोलिक विकटताका कारण धेरै खाले प्रतिबद्धता गरेको थिए । ती प्रतिबद्धताहरु एक÷एक गरेर पुरा गर्दै आएको छु । भोट माग्ने क्रममा म एउटा आमसभामा गएको थिए । एक जना बुढा बालाई नमस्कार गरें । तर उहाँले नमस्कार फर्काउनुभयो, विडम्बना उहाँले मलाई देख्न सक्नु भएन । बाल्यकालमा आफुलाई काखमा खेलाउने र अत्यन्तै माया गर्ने नेवार कान्छा दाईले त्यो भन्दा आफुलाई नरमाईलो लाग्यो । मैले सोधें तपाईले मलाई देख्नु भयो भनेर सोधे उहाँले आँखाको समस्याका कारण मैले देख्न सक्दिनँ भनेर जवाफ दिनुभयो । मैले त्यतिवेलानैं के घोषणा गरे भन्दा मैले चुनाव जितु या हारुँ, जे भएपनि गाउँमा आँखा शिविर ल्याएर तपाईको आँखाले देख्न सक्ने बनाउँछु भनेको थिए । नभन्दै चुनाव जितियो र चुनाव चित्ननसाथ गाउँकार्यपालिकाको बैठकबाट तिलंगा आँखा केन्द्रसंग समन्वय गरेर मोतियाविन्दुको शल्यक्रिया गर्न शिवरको आयोजना गर्ने निर्णय गरियो र शिविर पनि राखियो । उहाँको शल्यक्रिया पछि म फेरी गएर सोधे दाई अव मलाई देख्नु हुन्छ ? उहाँले जवाफ दिनुभयोः अहिले आँखा देखें बाबु, स्वर्ग र नर्क यहिं हुने रहेछ, मैले भोगे । उहाँले भन्नुभयोः वास्तवमा मैले तिमिलाई भोट पनि दिएको थिईनँ, मेरो भोट अर्कै मान्छे हाल्नुभयोे । तिमिलाई धेरैपछि मैले आज देख्न पाएँ भनेर उहाँले खुसि व्यक्त गर्नुभयो । मलाई निर्वाचित भएपछि हालसम्म आफुलाई खुसि र उत्साहित बनाउने कामनै त्यहि हो ।
गाउँपालिकाका दुर्गम स्थलमा रहेका दुई चार घरका लागि सडक लैजान करोडांै खर्च गर्नु भन्दा पनि एकिकृत बस्तिको विकास गर्न पहल गरें । तर यहाँहरु मान्नु भएन ।सडक, शिक्षा, विजुली र स्वास्थ्य जस्ता सवै कुराको सुविधा दिने बताउँदा पनि उहाँहरु उत्साहित हुनुभएन । हामी स्वास्थ्य शिक्षा र रोजिरोटिका कुरा गर्दछौ जनताको पहिलो चाहाना भनेको सडक नै हो । हामी सडकको पहुँचबाट टाढा हुनु भएन भन्ने आम जनताको थियो । अहिले मेरा वडाका सवै स्थानमा सडकको पहुँच पुगेको छ । दुईवटा गाउँका ७÷८ घरका जनता बाँहेक सवैले सडकको सुविधा पाउनु भएको छ । र उक्त सडकको स्तरउन्नती गर्न पनि पहल गरिरहेको छु ।
त्यसैगरी विद्यालयका भौतिक संरचना बनाउने प्रतिबद्धता गरेको थिए । धेरै भन्दा धेरै जनता भुकम्पको लाभग्राही हुनबाट बञ्चित हुनु भएको थियो । ती छुटेका बास्ताविक पीडितहरुलाई समावेस गरि अहिले ९५ प्रतिशत लाभग्राहिले घर सम्पन्न गरि सक्नु भएको छ । एम्बुलेन्सको सुविधाबाट टाढा थियौ । सोल्पाठना स्वास्थ्य चौकीको नाममा वडाको पहलमा अहिले एम्बुलेन्स सञ्चालन भई रहेको छ । १० घरले कहिले पनि खानेपानी खान नपाएको गुनासो गरेका थिए । केही दिन अघि मात्र एक हजार मिटरको उचाईमा सुनकोसीको पानी त्यहाँ पु¥याएर २०० भन्दा बढी घरधुरीलाई खानेपानी र सिचाईको पहुँचमा ल्याएको छु । सुख्खा क्षेत्रमा सुनकोशिको पानी लिफ्टिङ प्रविधिबाट सिचाईको व्यवस्था गरेका छौं । विजुली बत्तिको विस्तार गर्ने काम भइरहेको छ । कृषि, किसान र शिक्षा क्षेत्रका समस्याहरुलाई हल गर्न वडाले सदैव प्रयत्न गरिरहेको छ । माध्यमिक विद्यालयहरुमा कम्युटर शिक्षाको व्यवस्था गर्ने कार्यको थालनी गरिसकेका छौ ।
त्यसो भए घोषणा पत्रमा उल्लेख भएका सबै प्रतिबद्धता पुरा भएकै हुन् त ?
मैले घोषण पत्रमा गरेका प्रतिबद्धता र जनतामाझ गरेका धेरै प्रतिबद्धता पुरा गरें । जनजिविकाका सवालमा प्रतिबद्धतानंै नगरेका कामहरु पनि गरेको छु । मैले प्रतिबद्धता गरे मध्ये एउटा काम हुन सकेको छैन् । त्यो हो झगरेवेसि बाट सोल्पाभञ्ज्याङसम्म कालो पत्रे गर्ने भनेको थिए । सुरुवात त गरियो र सम्पन्न गर्नका लागि पहल जारिछ । संघिय सरकारसँग जाँदा यो प्रदेश सरकारले गर्ने भन्ने कुरा आयो । प्रदेशमा कुरा गर्दा बजेट छैन भन्छन् । तैपनि प्रतिबद्धता पुरा गर्नका लागि म निरन्तर लागि रहेको छु । विद्यालयहरुमा पक्कि भवन बनाउने प्रतिबद्धता थियो, पुरा गरिसकेको छु । खानेपानी खुवाउने प्रतिबद्धता थिएन तर पनि सुनकोसीबाट पानी लगेर पानी खुवाएका छौं । पशु कृषिमा बढी जोड दिएका छौं । उत्पादनमा कसरी बढी भन्दा बढी जनतालाई जोड्न सकिन्छ भन्ने लक्ष्यका साथ यस बर्ष रोजगार सहायता कोषमा ५० लाख रुपैंया विनियोजन गरेको छ । चाँडो भन्दा चाँडो कर्यविधि बनाएर युवाहरुलाई समेटने लक्ष्य राखेका छौं ।
केन्द्र र प्रदेश सरकारले यो गरेन, त्यो गरेन भन्ने मात्रै सुनिन्छ । सम्पूर्ण काम गर्ने अख्तियारी आफैंमा रहेका बेला समाजबाद उन्मुख राजनैतिक यात्राका लागि तपाईले कस्ता कस्ता विषयलाई प्राथमिकता दिनु भएको छ ?
हो हामी समाजवादी हौं र हाम्रो सबै काम कारबाही त्यस तर्फ केन्द्रीत हुनै पर्छ । यो यात्राबाट गन्तव्यमा पुग्नको लागि वर्गविहिन समाज निर्माण गर्नु पर्दछ । गरिवि भन्ने चिजसँग जनता टाढा राख्नको लागि समान तरिकाले जनताले पाउनु पर्ने आधारभुत कुराहरु जस्तै शिक्षा स्वास्थ्य निःशुल्क र सर्वसुलभ रुपमा प्राप्त गराउन हामी लागि परेका छौं । शिक्षा, स्वास्थ्य लगायतका जनजीविकासँग जोडिएर आउने आधारभूत कुराहरुलाई जनताको पहुँचमा पु¥याउन लागि हामी क्रियाशिल पनि छौं नारामा समाजबादको यात्रा भनिएको छ, तर व्यवहारमा त्यसलाई लैजान केही जटिलताहरु छन् । तर पनि हाम्रो क्षमताले भ्याएसम्म काम गर्नेछौं । हामी नागरिकलाई रोग र भोकबाट कसरि टाढा गराउन सकिन्छ भनेर संवेदनशिल बनिरहेका छौं । जसका लागि सवैभन्दा पहिला जनचेतना जगाउन आवश्यक हुँदोरहेछ । अहिले पनि हुने खाने र हुँदा खाने दुई वर्ग विचको विभेद छ त्यसलाई चिर्न आवश्यक रहेको छ । गरिवको चपेटामा रहेका जनताको स्तर उन्न्ती गर्ने र गाउँमा भएको शैक्षिक प्रणालीको विकास गर्नका लागि हामी प्रयत्नशिल रहेका छांै । विकटमा रहेका र सुविधानै नभएका विद्यालयमा अध्ययन गरेको विद्यार्थीले सुविधा सम्मपन्न विद्यालयमा अध्ययन गरेको विद्यार्थीसँग प्रतिस्पर्धा गर्नु परेको छ । त्यस सुविधा सम्पन्न विद्यालयमा अध्ययन गरेको विद्यार्थी त्यहाँको परिवर्तन गर्नका लागि योग्य रहला । तर विकट र सुविधा नभएका स्थानका विद्यार्थीहरु त्यस ठाउमा परिवर्तन गर्नका लागि उ योग्य रहन सक्दैन । किनकि एक गरिव र विकटमा अध्ययन गरेको विद्यार्थी र मल्टि ट्यालेन्ट विद्यार्थी विचको प्रतिस्पर्धा नै अहिलेको शिक्षा हो । यसकारण भौगोलिक विकटता भएका क्षेत्रमा पनि गुणस्तरीय शिक्षा दिन हामीले विभिन्न प्रयत्न गरेकाछौ ।
तपाई गाउँपालिकाको प्रवक्ता पनि हुनुहुन्छ । तपाईहरुले लोकसेवा पास गरेर आएको इन्जिनियरलाई अयोग्य घोषणा गरिदिनुभयो नि ?
कार्यसम्पादन गर्ने वेला कतिपय कुरामा गल्ति हुने गर्दछन् । सवै दुधले धोएको भन्ने पक्कै हुँदैन । तर जे कुरा सामाजिक संञ्जालमा देखियो र तपाईले प्रश्न सोधि रहनु भएको छ । त्यो बाहिर देखिएका टिक्का टिप्पणी मात्र हुन् । त्यस भित्रका कुराहरु धेरै छन् । कमिकमजोरी के छन् भनेर हेर्न चाहेनौं । यहाँ व्यवबहार र जनताले पाएको दुःखका कुरा उच्चारण गर्न कसैले चाहेको छैन । एउटा शब्दमा मात्र सवै केन्द्रित भएका छौं । ६ महिना अघि सम्पन्न भएका योजनाहरुको फाईल पन्छाइदिने, हराइदिने लगायतका कामहरु गर्ने परिपाटी उहाँबाट भयो । जनताका तर्फबाट धेरै गुनासो आईरहेको थियो । हामीले गाउँपालिकाले अनुरोध समेत गरेको थियो । यो प्रकरणमा दुवै पक्षका कमीकमजोरी भने देखिन्छ ।
तपाईले फाईल हराउने भन्नुभयो । विगतमा स्वास्थ्य चौकी निर्माणमा पनि ठेक्का प्रक्रियाका फाइल गायव गराएर निकटकालाई काम दिलाइएको थियो नि ?
तपाईले सही कुरा उठाउनु भयो । मलाई पनि सुरुमा सो घटना नियतबस नै लागेको हो । यो विषमा बहस गर्दा लामै बहस हुन्छ । बास्ताविकता बुझन अनुसन्धान गर्ने टोली बनाएका थियौं । कुनै झ्याल तोडफेड नभएको कुरा आयो । यस बिषयमा मैले पनि गम्भिर रुपमा कुरा उठाएकै हो । यहाँ कर्मचारीहरु उत्तरदायि नभएकै हुन् । हामीले प्रहरी मुचुल्का सहितका काम गरेका छौं । यसमा
बद्नियत केही पनि हैन । गाउँपालिकाँंग पनि धेरै कुराहरु जोडिएका थिए । त्रुटि कोहीबाट भएको छ । फाईल राख्दा राख्दै कसैले लग्यो या के भयो, यसै भन्न सकिन्न । सिसि क्यामेरा भई दिएको भए यसको बास्ताविकता केलाउन सहज हुनेथियो ।
आगामी स्थानीय निर्वाचनमा तपाईले आफु अध्यक्ष बन्नका लागि भूमिका बढाइरहनु भएको चर्चा सुनिन थालेको छ । के तपाईले पूर्वतयारी थाल्नु भएको हो ?
चुनाव आउन अझ धेरै समय बाँकी रहेको छ । समाज सेवामा लागेको कार्यकर्ताले आशा राख्नु स्वभाविकै हो । चर्चा चल्नु खासै ठुलो कुरा भने पक्कै होइन । बास्ताविकता केहो भन्ने कुरा महत्वपूर्ण हो । मैले वडा कार्यालय सम्पन्न पछि एक जना पत्रकारले नेपाल भरकै नमुना वडा कार्यालय बनाउनुभयो भनेर सोध्नु भएको थियो । वडा कार्यालयको भवन बनाउँदा पनि जनताबाट सकरात्मक चर्चा हुन थालेको छ । तर वडा कार्यालय भवन वन्नुमा मेरो प्रयास त छनै । तर पनि फिक्कल गाउँपालिकाको सवैभन्दा जिर्ण कार्यालयको भवन थियो । द्धन्द्धकालमा आओबादीले फिक्कल गाउँपालिकाका अरु वडाका गाविस भवनहरुमा आग्जनी गरेको थियो । तर यस वडामा रहेको गाविस भवन घरमा नै जोडिएकाले आग्जनी गर्न नमिल्ने भएकाले छोडिएको रहेछ । वडा त बच्यो तर वडा जिर्ण भएकाले गाउँकार्यपालिकाले भवन वनाउने निर्णय गरेको थियो र वन्यो । यस्ता कुराहरुले पनि चर्चा त भएका होलान् । चर्चाको भन्दा पार्टीले दिएको जिम्मेवारीबाट भने पछि हट्ने कुरा हुदैन् ।
तपाई एक कलाकार तपाईका गितहरु पनि चर्चित छन् । आफ्नो कलाकारीतालाई पूर्णविराम नै लगाउनु भएको हो ?
म आफ्नो सोखले गर्दा कलाकारीतामा लागे । केही संघर्षका समयमा कलाकारीता मेरो भित्रैबाट आएको इच्छा हो । सामाजिक संजाल र मिडियामा आएर प्रस्तुत हुदा मात्र सक्रिय भन्ने कुरा पक्कै हुदैन । सिर्जनामा केही बाधा भएता पनि सिंगो कलाकारीताबाट म पछि हट्ने छैन । मेरेो कलाकारितामा पनि लगाव अझै नंै रहेको छ ।