बाढीको स्थलगत निरीक्षणका लागि राहत बोकेर गृहमन्त्री बादल ढोरपाटनमा

बागलुङको ढोरपाटन नगरपालिकामा बस्तीमा बाढि छिरेर दर्जनौँ बेपत्ता भएको घटना निरीक्षण गर्न गृहमन्त्री रामबहादुर थापा बादल राहत लिएर त्यसतर्फ पुगेका छन् ।

बिहीबार बिहान गृहमन्त्री थापा आर्मीको हेलिकप्टरमा त्यसतर्फ लागेका हुन्। उनीसँगै बागलुङका प्रतिनिधि सभा सांसद देवेन्द्र पौडेल पनि गएका छन्।

ढोरपाटन  वडा नं ७, ८ र ९ का तटीय बस्तीमा बाढी पस्दा मृत्यु हुनेको सङ्ख्या ९ पुगेको छ । सुकुर्दुङस्थित भूजी खोलाको बाढीमा ३० जना भन्दा बढी बेपत्ता भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका अनुसार बाढीले गाउँका घर बगाएर क्षति बनाएको छ।

मृत फेला परेका ९ जनामध्ये ढोरपाटन–९ की २६ वर्षकी केशमाया बिकको मात्रै पहिचान भएको छ। अरु पाँच महिला र तीन पुरुषको पहिचान नभएको डिएसपी राजेन्द्र रेग्मीले जानकारी दिएका छन्। बेपत्ता हुनेको संख्या थपिने क्रम जारी रहेकाले ठूलो मानवीय क्षति भएको हुन सक्ने उनले बताए ।