जोर्ज फ्लोइड हत्या प्रकरण: बर्खास्त गरिएका चारजना प्रहरी अधिकारी विरुद्ध हत्या अभियोग लगाइने

अमेरिकी पुरुष जोर्ज फ्लोइडको मिनियापलिसमा भएको हत्यालाई लिएर बर्खास्त गरिएका चारजना प्रहरी अधिकारीविरुद्ध नयाँ अभियोगहरू घोषणा गरिएको छ।

अदालतका दस्तावेजमा प्रहरी अधिकारी डेरेक शोभिनविरुद्ध पूर्वयोजना विनाको आशययुक्त हत्याको अभियोग लगाइने भएको छ।

शोभिनविरुद्ध यसअघि विना पूर्वयोजना र विना आशय पारिस्थितिक कारणले हत्या भएको अभियोग लगाइएको थियो। यी पुराना अभियोगबारे पनि अभियोगपत्रमा उल्लेख गरिनेछ।

यसअघि अभियोग नलागेका अन्य तीन प्रहरीमाथि गैरकानुनी काममा उक्साएको र मतियार बनेको आरोप लागेको छ।

फ्लोइडको मृत्युले अमेरिकाभर जातिवाद र अश्वेत अमेरिकीमाथिको प्रहरी बर्बरतालाई लिएर ठूला प्रदर्शनहरू भएका छन्।

Twitter post by @amyklobuchar: Minnesota Attorney General Keith Ellison is increasing charges against Derek Chauvin to 2nd degree in George Floyd’s murder and also charging other 3 officers. This is another important step for justice.

विगत आठ दिनदेखि भएका त्यस्ता प्रदर्शनहरू धेरैजसो शान्तिपूर्ण छन् तर केही हिंसक पनि बनेका छन् र थुप्रै सहरहरूमा कर्फ्यू लगाइएको छ।

प्रहरी अधिकारीहरूमाथि नयाँ अभियोगहरूको घोषणा गर्दै मिनेसोटा राज्यका महान्यायाधिवक्ता किथ एलिसनले ती अभियोगहरू न्यायको पक्षमा भएको बताए।

मिनेसोटाका सिनेटर एमी क्लोबसारले ट्वीटरमा कम्तीमा यी अभियोगहरू “न्यायका लागि अर्को महत्वपूर्ण कदम” भएको बताएकी छन्।

फ्लोइडको परिवारका वकिल बेन्जामिन क्रम्पले एक विज्ञप्तिमा भनेका छन्: “न्यायको मार्गमा यो एउटा महत्त्पूर्ण कदम हो र जोर्ज फ्लोइडको अन्तिम संस्कारअघि नै यो महत्त्वपूर्ण कदम चालिएकोमा हामी कृतज्ञ छौं।”

तर त्यसको केहीपछि सीएनएनसँग बोल्दै उनले डेरेक शोभिनविरुद्ध पूर्वनियोजित आशययुक्त हत्याको अभियोग लगाउनुपर्ने परिवारले ठानेको उनले बताए।

दोषी साबित गर्न कठिन

क्रम्पले थप अनुसन्धान भइरहेको र शोभिनविरुद्धको अभियोग अझै पनि परिवर्तन हुनसक्ने आफूहरूलाई बताइएको पनि जानकारी दिए।

मिनेसोटाका महान्यायाधिवक्ता किथ एलिसन

महान्यायाधिवक्ता एलिसनले पूर्वप्रहरी अधिकारीहरूविरुद्ध सफलतापूर्वक अभियोजन गर्न निकै कठिन हुने कुराबारे आफूमा कुनै भ्रम नरहेको बताए।

“दोषीसिद्ध गर्न कठिन हुनेछ। विगतका घटनाहरूले स्पष्ट चुनौतीहरू रहेका देखाउँछन्,” उनले भने।

मिनेसोटा राज्यमा सर्वसाधारण मारेको घटनामा जम्मा एकजना बहालवाला प्रहरी अधिकारी मात्रै दोषी साबित भएका छन्।