औलो र मलेरिया रोग नियन्त्रण गर्न सक्ने किरा

वैज्ञानिकहरूले लाम्खुट्टेलाई मलेरिया अर्थात् औलो सर्नबाट जोगाउने क्षमता भएको एउटा सूक्ष्मजीव पत्ता लगाएका छन्।

केन्या र यूकेका वैज्ञानिकहरूले उक्त सूक्ष्मजीव औलो रोग नियन्त्रणका लागि महत्त्वपूर्ण सिद्ध हुन सक्ने विश्वास व्यक्त गरेका छन्।

लाम्खुट्टे

औलो रोगको परजीवीबाट सङ्क्रमित लाम्खुट्टेको टोकाइबाट मानिसमा पनि उक्त रोग सर्छ। तसर्थ लामखुट्टेलाई उक्त परजीवीबाट जोगाउन सकिए औलोबाट मानिसहरू पनि स्वतः सुरक्षित बन्न सक्छन्।

औलो नियन्त्रण गर्नका लागि अहिले पत्ता लागेको सूक्ष्मजीवबाट सङ्क्रमित लाम्खुट्टे प्राकृतिक वासस्थानमा छोड्ने कि उक्त सूक्ष्मजीवको स्पोर प्रयोग गर्ने विषयमा अनुसन्धान भइरहेको छ।

यो कस्तो सूक्ष्मजीव के हो?

यो सूक्ष्मजीवको नाम माइक्रोस्पोरिडिआ एमबी हो। केन्यास्थित भिक्टोरिया तालको किनारमा भेटिएका लाम्खुट्टेको अध्ययन गर्दा यो सूक्ष्मजीव फेला परेको हो।

यो सूक्ष्मजीव लामखुट्टेको आन्द्रा र प्रजनन अङ्गमा बस्छ।

शरीरमा माइक्रोस्पोरिडिआ भएको लाम्खुट्टेमा वैज्ञानिकहरूले औलोको परजीवी फेला पारेनन्।

अनि प्रयोगशालामा गरिएको परीक्षणमा उक्त सूक्ष्मजीवले लाम्खुट्टेलाई सुरक्षा प्रदान गरेको प्रमाणित भयो। यसबारे ‘नेचर कम्यूनिकेशन्स’ नामक वैज्ञानिक जर्नलमा एउटा अध्ययन प्रकाशित भएको छ।

माइक्रोस्पोरिडिआ ढुसी वर्गमा पर्ने सूक्ष्मजीव हो। यसका अधिकांश प्रजाति परजीवी हुन्छन्।

तर यो नयाँ प्रजातिको माइक्रोस्पोरिडिआ लाम्खुट्टेका लागि लाभदायक हुनसक्छ। अध्ययन गरिएकामध्ये पाँच प्रतिशत लाम्खुट्टेमा उक्त सूक्ष्मजीव प्राकृतिक रूपमै पाइएको थियो।

यो आविष्कार कति महत्त्वपूर्ण हो?

“अहिलेसम्म हामीले सङ्कलन गरेको तथ्याङ्कले यसले औलो शतप्रतिशत रोक्छ भन्ने देखिन्छ,” केन्यास्थित इन्टर्शन्याश्नल सेन्टर अफ इन्सेक्ट फिजीओलजी एन्ड इकोलजीका डा. जेरमी हेरनले बीबीसीलाई भने।

यो वास्तवमै एउटा ठूलो उपलब्धि भएको धेरैलाई लाग्ने उनको धारणा छ।

प्रत्येक वर्ष औलोका कारण चार लाख जनाभन्दा बढीको मृत्यु हुन्छ। तीमध्ये अधिकांश पाँच वर्षमुनिका बालबालिका छन्।

झुलको प्रयोगबाट र कीटनाशक औषधि छर्दा औलो रोकथाममा केही सहयोग पुगे पनि यो रोग नियन्त्रणका लागि नयाँ उपाय आवश्यक भएको धेरैको मान्यता छ।

यो सूक्ष्मजीवले कसरी औलो रोक्छ?

यस विषयमा विस्तृत अध्ययन हुन बाँकी छ।

तर माइक्रोस्पोरिडिआ एमबीले लाम्खुट्टेको प्रतिरक्षा प्रणालीलाई सङ्क्रमण निष्क्रिय पार्ने क्षमता प्रदान गरेको हुनसक्छ।

अथवा यो सूक्ष्मजीवका कारण लाम्खुट्टेको शरीर औलोको परजीवीका लागि बस्न अयोग्य बनिदिन्छ।

लाम्खुट्टेमा माइक्रोस्पोरिडिआ एमबीको सङ्क्रमण आजीवन हुने देखिएको छ।