चौरजहारी हत्याकाण्डका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन

रुकुम पश्चिमको चौरजहारी सोतीमा घटेको घटनाका दोषीलाई कारबाहीको माग गर्दै काठमाडौँमा प्रदर्शन गरिएको छ ।

उक्त घटनाको निन्दा गर्दै उच्च स्तरीय निष्पक्ष छानबिन र दोषीहरुलाई कारबाहीको माग गरेर मानव अधिकार तथा शान्ति समाजले काठमाडौँको बौद्धमा विरोध प्रदर्शन गरेको हो ।

पाँच जना नागरिकको मृत्यु भएको, एक जनाको स्थिति अझै अज्ञात रहेको, कतिपयलाई कुटपिट गरिएको उक्त घटनाको निन्दा गर्दै दोषीहरुलाई कानुन सम्मत कारबाही गर्न र भविष्यमा यस्ता घटना दोहोरिन नदिन उपयुक्त कदम चाल्नका लागि दबाब दिन प्रदर्शन गरिएको शान्ति समाजले जनाएको छ ।

विरोध प्रदर्शनमा बोल्दै शान्ति समाजका केन्द्रीय सभापति उत्तम पुडासैनीले रुकुम पश्चिमको घटनामा संलग्न दोषीहरुलाई कानुन सम्मत कारबाही नभए दण्डहीनता विरुद्ध देशव्यापी आन्दोलन थाल्ने चेतावनी दिए ।

समाजका सल्लाहकार होमकान्त चौलागाई र काठमाडौँ शाखा सभापति जगन्नाथ पुडासैनीले दण्डहीनताका कारण मानव अधिकार उल्लंघनका घटनामा वृद्धि भइरहेको बताए ।