काठमाडौँ उपत्यकामा कार्यरत प्रहरीलाई कोरोना संक्रमण भएपछि सुरक्षाकर्मीहरु त्रसित

काठमाडौँ महानगरपालिकाले केहि दिन अघि सन्चालन गरेको कोरोना भाइरस संक्रमण परीक्षणमा महानगरीय प्रहरी वृत कालिमाटीका १९ प्रहरी पनि सहभागी थिए।

तीमध्ये दुईजनालाई कोरोना संक्रमण भएपछि यतिबेला उक्त वृत मात्र होइन उपत्यकाकै सुरक्षाकर्मीहरु त्रसित भएका छन्।  उपत्यकाको अत्यन्तै महत्वपूर्ण वृत मध्येको एक कालिमाटीमा मात्र एक सय ३० प्रहरी कार्यरत छन्।

वृतको भवनसँगै टाँसिएको महिला सेलमा १८ प्रहरी कार्यरत छन्। वृतको नेतृत्व नायब उपरीक्षक-डीएसपीले गर्छन्। कालिमाटी वृतका प्रमुख रुगम कुँवरले वृतसँगै नजिकै रहेको ट्राफिक कार्यालय र महिला सेललाई सिल गरिएको बताए।

कोरोना संक्रमण पुष्टी भएका प्रहरीमा एक जना नायब निरिक्षक-सई र जवान छन्। स्रोतका अनुसार परीक्षणपछि पनि उनीहरु कार्यालयमा आएर काम गरिरहेका थिए। उनीहरु दुवै जना फिल्डमा खटि रहने प्रहरी हुन्। दुवैलाई बलम्बुस्थित शसस्त्र प्रहरी अस्पतालमा राखिएको छ।

काठमाडौँ उपत्यकामा कार्यरत प्रहरी अधिकारीलाई कोरोना संक्रमण भएको यो पहिलोपटक हो। यसअघि सशस्त्र प्रहरी अस्पतालमा कार्यरत एकजना र पूर्व गृह मन्त्री भीम रावलका पूर्व सुरक्षा गार्ड एक शसस्त्र प्रहरी जवानलाई कोरोना संक्रमण भएको थियो।