खानेपानी संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौंको चलखेल: निरु दर्लामी

नेपाल खानेपानी संस्थानको पदपूर्ति समितिबाट हटाइएकी निरु दर्लामीले खानेपानीमन्त्री उमाकान्त चौधरीमाथि गम्भीर आरोप लगाएकी छन् । संस्थानमा मन्त्रीका मान्छे भर्ती गर्न लाखौं रुपैयाँको चलखेल गरिएको तथा आफूलाई अपमानपूर्वक हटाइएको उनको भनाइ छ ।

आज एक विज्ञप्ति जारी गर्दै दर्लामीले संस्थानभित्र भइरहेको राजनीतिक हस्तक्षेप सार्वजनिक गरेकी हुन् । हिजो बसेको संस्थानको बोर्ड बैठकले पदपूर्ति समितिबाट उनलाई हटाएर खानेपानी मन्त्रालयका सहसचिव तिरेशप्रसाद खत्रीलाई नियुक्त गरेको थियो ।

यस विषयमा दलार्ममीले भनेकी छन्, ‘हाल निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा रातारात लाखौं रुपैयाँको चलखेल गरी बहुमतको हवाला दिँदै मलाई पदपूर्ति समितिको अध्यक्षबाट अपमानपूर्वक ढंगले जबरजस्ती हटाइ मन्त्रालयमा कार्यरत कर्मचारी सहसचिव श्री तिरेशप्रसाद खत्रीलाई पदपूर्ति समितिको अध्यक्ष बनाएर निज चौधरीको आफन्त र आसेपासे भर्ना गर्न खोजिएको छ । यो कार्यको जति खेद र भर्त्सना गरे पनि कम हुन्छ ।’

दर्लामीका अनुसार संस्थानले गत चैत १ गते ४६ जना कर्मचारीको पदपूर्ति गर्ने उद्देश्यले १ देखि ३ तहसम्मको विज्ञापन खुलाएको थियो । त्यसमा एक हजार १५८ जनाले मौखिक परीक्षा दिएका थिए । अन्तिम नतिजा प्रकाशनमा मन्त्रीका मान्छे पार्न अध्यक्ष गुणाखर भुसाल सबैभन्दा बढी लागिपरेको उनको आरोप छ । लाचार बोर्ड अध्यक्षलाई कारबाही गर्न उनले सबैको ध्यानाकर्षण गराएकी छन् ।