देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प छैनः कमल थापा

राप्रपा नेपालका अध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री कमल थापाले देशलाई संकटबाट मुक्त गर्न ताजा जनादेशको विकल्प नरहेको दाबी गरेका छन्।

काठमाडौंमा शुक्रबार आयोजित एक कार्यक्रममा उनले देशमा भ्रष्टाचार अत्यन्त विकराल अवस्थामा पुगेको बताए। अध्यक्ष थापाले भ्रष्टाचार नियन्त्रण गर्ने संस्था राजनीतिक दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेको आरोप लगाए।

उनले नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्यूहमा फसेको बताउँदै सरकार प्रभावहीन बनेको बताए। अध्यक्ष थापाले भने, ‘भ्रष्टाचार अत्यन्तै विकराल भएको छ। नियन्त्रण गर्ने संस्था सरकारको दबाब र प्रभावमा परेर, राजनीतिक दलको दबाब र प्रभावमा परेर निष्प्रभावी बनेका छन्। कैयौँ ठूला भ्रष्टाचारको छानबिन त्यसै सेलाएको छ। छानबिन भएर अदालतसम्म पुगेको मुद्दामा पनि सम्बन्धित निकायले ठोस र प्रभावकारी कदम चाल्न सकेको छैन। धर्म निरपेक्षताको आडमा संगठित र योजनाबद्ध रूपमा धर्म परिवर्तन भइरहेको छ। नेपालको राष्ट्रिय राजनीति संकटको चक्रव्युहमा फसेको छ। यस्तो अवस्थामा ७ महिनादेखि संसद् अवरुद्ध छ।’

उनले थपे, ‘न्यायपालिकाभित्रको अराजकता अझै समाधान हुन सकेको छैन। सरकार प्रभावहीन बनेको छ। यो समग्र परिदृश्यलाई दष्टिगत गर्दै अब देशलाई संकटबाट मुक्त तुल्याउन ताजा जनादेश र संसद्को चाँडोभन्दा चाँडो निर्वाचनमा जानु नै सबैभन्दा उपयुक्त विकल्प हो।’ राप्रपा नेपाल अहिले युद्धस्तरमा संगठन निर्माणको तयारीमा रहेको उनले बताए।

उनले भने, ‘स्थानीय तहको चुनावमा राप्रपा नेपाल सहभागी हुन्छ। हाम्रो प्राथमिकता स्थानीय तहको निर्वाचनभन्दा पनि संसदीय निर्वाचनमा छ। आगामी संसदीय निर्वाचनबाट राप्रपा नेपाललाई राष्ट्रिय पार्टी बनाउने ढंगबाट आवश्यक तयारी गरिरहेका छौँ।’

अध्यक्ष थापाले आगामी स्थानीय तहको निर्वाचनमा राप्रपा नेपाल सहभागी बन्ने र राप्रपा नेपालको प्राथमिकता स्थानीय निर्वाचन नभई संसदीय निर्वाचन भएको बताए। उनले आगामी निर्वाचनबाट पार्टीलाई राष्ट्रिय पार्टी बनाउने पनि दाबी गरे।